काठमाडौं । नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष फागुन २१ को आमनिर्वाचनमा पार्टीले व्यहोर्नुपरेको धक्का अस्थायी भएको बताएकी छन् ।
पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै नेता भण्डारीले अगुवा नेता तथा कार्यकर्ताहरूलाई निराश नभई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न आह्वान गरेकी हुन् । एउटा निर्वाचनको हारले समग्र राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने उनको भनाइ थियो ।
गत फागुन २१ गते सम्पन्न आमनिर्वाचनमा पार्टीले व्यहोर्नुपरेको धक्काबाट कार्यकर्ता पंक्तिमा केही निराशा उत्पन्न भएको भए त्यसबाट तत्काल मुक्त हुन उनले आग्रह गरिन् । भण्डारीले भनिन्, ‘निराश भएर निष्क्रिय बस्ने होइन, हारबाट सही पाठ सिक्दै र कमजोरी सच्याउँदै आगामी स्थानीय तहलगायतका निर्वाचनमा केन्द्रित हुनुपर्छ ।’
सक्रिय राजनीतिमा आफ्नो पुनरागमनबारे प्रष्ट पार्दै भण्डारीले आफू व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभई मातृ पार्टीको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण र मुलुकको सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुर्याउन फर्किएको स्पष्ट पारिन् । राष्ट्रपतिको सर्वोच्च संवैधानिक जिम्मेवारी सम्हाल्दा देशको सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षामा आफू सधैँ समर्पित रहेकोसमेत उनले स्मरण गरिन् ।


