काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तनका स्थानीय असर न्यूनीकरण तथा अनुकूलनका लागि सामूहिक सहकार्य जुटाउने उद्देश्यले यही मङ्सिर ७ गतेदेखि १३ गतेसम्म ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जलवायु संकट सामना गर्न स्थानीय तहका प्रमुख, वैज्ञानिक, निजी क्षेत्र, नागरिक समाज र युवालाई एउटै मञ्चमा ल्याउन लागिएको जानकारी दिए । तीव्र सहरीकरणसँगै काठमाडौंले भोगिरहेको डुबान, अत्यधिक गर्मी, वायु प्रदूषण, पानीको अभाव र फोहोरमैलाजस्ता समस्या समाधान गर्न तीनै तहका सरकार र समुदायबीचको सहकार्य अपरिहार्य रहेको उनले बताए । सहर केन्द्रित जलवायु असर घटाउन सहरस्तरीय यस्तो कार्यक्रम आयोजना गरिएको यो नेपालकै पहिलो प्रयास भएको महानगरको दाबी छ ।
यस्तो छ सातदिने कार्यतालिका
-
पहिलो दिन (नीतिगत संवाद): उपत्यका तथा प्रभावित क्षेत्रका स्थानीय सरकार प्रमुख, जनप्रतिनिधि र विज्ञबीच सहरी उत्थानशीलता र साझा प्राथमिकताका विषयमा राउन्ड टेबल छलफल हुनेछ ।
-
दोस्रो दिन (जलवायु वित्त): अनुकूलन पूर्वाधार निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु कोष, हरित नगर ऋणपत्र तथा निजी क्षेत्रको लगानी परिचालनबारे छलफल गर्दै महानगरले प्राथमिकताप्राप्त परियोजनाहरू प्रस्तुत गर्नेछ ।
-
तेस्रो दिन (सम्पदा र नागरिक विज्ञान): ऐतिहासिक सम्पदा क्षेत्रको पदयात्रा, परम्परागत ढुंगेधारा (हिटी) प्रणालीको संरक्षण, भूमिगत जल पुनर्भरण र पानीको गुणस्तर परीक्षण प्रदर्शन गरिनेछ ।
-
चौथो दिन (ऊर्जा प्रणाली): स्वच्छ ऊर्जा, विद्युतीय सवारी, ऊर्जा भण्डारण र फोहोर व्यवस्थापनबारे समानान्तर सत्र चल्नेछन् । सोही दिन टेकुस्थित बायोग्यास प्लान्टको उद्घाटनसमेत गरिनेछ ।
-
पाँचौँ दिन (बालबालिका तथा युवा दिवस): ५० भन्दा बढी विद्यालयमा फोहोर वर्गीकरण, वृक्षरोपण, हरित आविष्कार प्रदर्शनी र सचेतनामूलक कार्यक्रम हुनेछन् ।
-
छैटौँ दिन (खाद्य प्रणाली): सहरी कृषि, बीउ संरक्षण र कौसी खेतीसम्बन्धी सिकाइका साथै खुमलटारस्थित राष्ट्रिय जीन बैंक र परम्परागत बजारको अवलोकन गराइनेछ ।
-
सातौँ दिन (जलवायु न्याय): नागरिक समाज तथा गैरसरकारी संस्थाको दायित्व, पुस्तान्तरणीय जिम्मेवारी र हिमाली क्षेत्रमा भइरहेको क्षति तथा नोक्सानीबारे संवाद गरी सप्ताह समापन गरिनेछ ।
विद्यार्थीका लागि भिडियो प्रतियोगिता र सद्भावना दूत उपाधि सप्ताहअन्तर्गत ‘जलवायुका लागि बालबालिका भिडियो प्रतियोगिता’ समेत आयोजना गरिएको छ । महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थी तथा महानगरको स्थायी ठेगाना भई अन्यत्र अध्ययनरत बालबालिकाले यसमा भाग लिन पाउनेछन् ।
प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ३० हजार, तृतीयलाई २० हजार र सान्त्वना स्थान हासिल गर्ने ६० जनालाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । साथै, उत्कृष्ट १० विद्यार्थीलाई महानगरपालिकाको ‘जलवायु परिवर्तन सद्भावना दूत’ को उपाधि दिइने प्रवक्ता मानन्धरले जानकारी दिए ।


