सुनसरी । सहकारी ठगीमा संलग्न भई लामो समयदेखि फरार रहेका आरोपीहरूलाई सरकारले धमाधम पक्राउ गर्न थालेको छ। बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरी फरार रहेका सहकारी सञ्चालक तथा कर्मचारीमाथि प्रहरीले खोजी र पक्राउ अभियान तीव्र बनाएको छ।
यसैक्रममा धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका मुख्य योजनाकार शिवकुमार विश्वकर्मा (लामिछाने) सहित दुई जना पक्राउ परेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको विशेष प्रहरी टोलीले मंगलबार नेपाल–भारत सीमा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बराह सहकारीका संस्थापक ४५ वर्षीय विश्वकर्मा र सहकारीको ऋण उपसमिति सदस्य तथा ग्राहक सेवा (कस्टमर केयर) कर्मचारी ३३ वर्षीया अस्मिता भण्डारी रहेका छन्। उनीहरू लामो समयदेखि फरार रहेको प्रहरीले जनाएको छ।
May be an image of slow loris and textसहकारी ठगीका मुख्य योजनाकार नै पक्राउ परेपछि सरकारले बचतकर्ताको रकम हिनामिना गर्ने र फरार रहनेहरूविरुद्ध कारबाहीलाई प्राथमिकतामा राखेको संकेत देखिएको छ।
गृहमन्त्री सुदन गुरुङले पनि विश्वकर्मा पक्राउ परेको जानकारी दिँदै बराह सहकारी प्रकरणका मुख्य योजनाकारलाई कानुनी दायरामा ल्याउन सफल भएको बताएका छन्। उनले सहकारी ठगीमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा पक्राउ प्रक्रिया पनि तीव्र पारिएको उल्लेख गरेका छन्।
गुरुङले ६ वर्षअघि धरानमा ‘सेभ घोपा’ अभियान सञ्चालन गर्ने क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आवाज उठाउँदा पूर्वका सहकारीपीडित बचतकर्ताको पीडा नजिकबाट सुनेको स्मरण गरेका छन्। अभियन्ताका रूपमा रहँदादेखि नै आफूलाई झकझकाइरहेको यस विषयमा गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि प्राथमिकताका साथ काम अघि बढाइएको उनको भनाइ छ।
१७ हजारभन्दा बढी पीडित, १० अर्ब ७३ करोडभन्दा बढी बिगो
प्रहरीका अनुसार बराह सहकारीविरुद्ध १७ हजार १० जना पीडितको तर्फबाट शंकर थापासहित ४ हजार २४३ जनाले जाहेरी दिएका छन्। उक्त मुद्दामा कुल बिगो १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ कायम गरिएको छ।
धरानमा मुख्य कार्यालय रहेको बराह सहकारीसँग आबद्ध भई नेपालमा ३० वटा र विदेशमा चारवटा कम्पनी स्थापना गरिएको तथा विभिन्न मितिमा बचतकर्ताले जम्मा गरेको रकम अपचलन र ठगी गरिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।
गृहमन्त्री गुरुङका अनुसार विश्वकर्मामाथि मात्रै ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ। यसअघि प्रहरी अनुसन्धानमा उनीमाथि २ अर्ब ७१ करोड ३१ लाख ६० हजार २४ रुपैयाँ बिगो दाबी गरिएको विवरणसमेत सार्वजनिक भएको थियो।
पक्राउ परेका दुवै जनामाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ।
बराह सहकारीका मुख्य योजनाकारसहित दुई जना पक्राउ परेसँगै लामो समयदेखि बचत फिर्ताको माग गर्दै आन्दोलनरत पीडितमा न्यायको आशा बढेको छ। तर, बचतकर्ताको रकम फिर्ता गराउने र अन्य फरार सञ्चालक तथा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने चुनौती भने अझै बाँकी छ।
सरकारले सहकारी ठगीमा संलग्न अन्य आरोपीलाई समेत कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ। अबको कारबाहीले सहकारीपीडितको रकम फिर्ता र न्याय सुनिश्चित गर्ने दिशामा कस्तो परिणाम दिन्छ भन्ने चासो बढेको छ।


