प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा ३४ सरकारी अधिकारी : निजी क्षेत्रबाट ५२ व्यवसायी सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको मंसिर ६ गतेदेखि सुरु हुने भारतको राजकीय भ्रमणमा ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल सहभागी हुने भएको छ । भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसहित उच्च सरकारी अधिकारी तथा प्रधानमन्त्रीका सल्लाहकारहरू रहनेछन् ।

परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भ्रमण टोलीबारे जानकारी दिँदै सरकारी खर्चमा ३४ सदस्य भारत जाने जनाएको हो । प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत प्रस्थान गर्नेछन् । उनीसँगै अर्थमन्त्री वाग्ले, परराष्ट्रमन्त्री खनाल, प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकारलगायत उच्च पदस्थ अधिकारी भारत जानेछन् ।

सरकारी प्रतिनिधिमण्डलबाहेक निजी क्षेत्रबाट आफ्नै खर्चमा ५२ जना उद्योगी तथा व्यवसायी पनि भ्रमणमा सहभागी हुनेछन् । त्यस्तै, निजी सञ्चारमाध्यमका पत्रकारहरू पनि आफ्नै खर्चमा भ्रमण टोलीमा सहभागी भएर समाचार संकलन गर्नेछन् ।

भ्रमणको दोस्रो दिन अर्थात् मंसिर ७ गते बिहान प्रधानमन्त्री शाहको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलबीच द्विपक्षीय छलफल हुने कार्यक्रम छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ । प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा औपचारिक दिवाभोजसमेत आयोजना गर्ने कार्यक्रम रहेको छ । यसैगरी, भारतका विदेशमन्त्री एस. जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन् ।

नेपाल र भारतबीच लामो समयदेखि सभ्यतागत सम्बन्ध, सांस्कृतिक निकटता र जनस्तरको गहिरो सम्बन्ध रहँदै आएको छ । भ्रमणले दुई देशबीचको व्यापक सहकार्यको समीक्षा गर्दै आपसी हित र लाभका क्षेत्रमा साझेदारीलाई थप विस्तार गर्ने अवसर प्रदान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री शाह मंसिर ७ गते बेलुकी ७ः३५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए । भ्रमण सम्पन्न भएपछि परराष्ट्रमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी भ्रमणका उपलब्धि र छलफलका विषयबारे जानकारी गराउने सचिव राईले बताए ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई