पछिल्लो समय नेपालको लघुवित्त (घ वर्गका वित्तीय संस्था) क्षेत्रमा वित्तीय अनुशासन र संस्थागत सुशासनको अवस्था गम्भीर रूपमा कमजोर बन्दै गएको छ।
नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रयमासमा गरेको अनुगमन र कारबाहीले यो क्षेत्रभित्रका गम्भीर बेथितिहरूलाई सतहमा ल्याइदिएको छ।
केन्द्रीय बैंकको प्रतिवेदन अनुसार न्यूनतम पुँजीकोष अनुपात कायम नगर्ने, आर्थिक अधिकार मिचेर जथाभावी खर्च गर्ने, नियमविपरीत कर्मचारी व्यवस्थापन गर्ने र कर्जा नोक्सानी व्यवस्थाको रकमलाई गलत रूपमा आम्दानी देखाउने जस्ता कैफियत भेटिएका छन्।
यसरी वित्तीय अनुशासन उल्लंघन गर्ने ५ वटा लघुवित्त संस्था, दुईवटा सञ्चालक समिति र एकजना प्रमुख कार्यकारी अधिकृत (सीईओ) राष्ट्र बैंकको कारबाहीको दायरामा परेका छन्।
१. न्यूनतम पुँजीकोष नपुर्याउने ५ लघुवित्तमाथि शीघ्र सुधारात्मक कारबाही
नियामकीय मापदण्ड अनुसार न्यूनतम पुँजीकोष अनुपात (Capital Adequacy Ratio) कायम गर्न नसकेपछि राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४’ को विनियम ३ (क) बमोजिम ५ वटा लघुवित्तलाई कारबाही गरेको छ:
- आरम्भ चौतारी लघुवित्त (बनेपा): २०८२ असार मसान्तमा पुँजीकोष अनुपात ७.७७% मात्र कायम गरेपछि माघ ७ मा कारबाही।
- गणपति लघुवित्त (तनहुँ): २०८२ असोज मसान्तमा पुँजीकोष अनुपात ६.०६% मात्र कायम रहेकाले माघ १५ मा कारबाही।
- सामुदायिक लघुवित्त (बनेपा): २०८२ असार मसान्तमा पुँजीकोष अनुपात ६.१२% मात्र भएपछि माघ १८ मा कारबाही।
- नेरुडे मिर्मिरे लघुवित्त (बनेपा): २०८२ असार मसान्तमा पुँजीकोष अनुपात ६.०१% मात्र कायम गरेपछि फागुन ५ मा कारबाही।
- सिवाईसी लघुवित्त (पोखरा): २०८२ असार मसान्तमा पुँजीकोष अनुपात ६.२०% मात्र कायम रहेकाले फागुन १० मा कारबाही।
२. नियमविपरीत कर्मचारी पुनरबहाली गर्ने धौलागिरि लघुवित्तको बोर्डलाई सचेत
बागलुङमा केन्द्रीय कार्यालय रहेको धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम सचेत गराइएको छ।
संस्थाको ‘कर्मचारी सेवा विनियमावली, २०८०’ को मर्म विपरीत नायब कार्यकारी अधिकृतलाई पुनरबहाली गराएको र स्पष्ट आधार बिना नै उनी बहाल नरहेको अवधिको रकम समेत नियमविपरीत भुक्तानी गरेको पाइएको छ। सोही कारण २०८२ माघ ९ मा राष्ट्र बैंकले अध्यक्ष सिर्जना थापासहित सञ्चालकहरू सुमन प्रसाद श्रेष्ठ, जीवन आचार्य, सालिक राम शर्मा, चेत प्रसाद सापकोटा, गणेश पौडेल र रेशम लाल सापकोटालाई सचेत गराएको हो।
३. आर्थिक अख्तियारी मिचेर गाडी किन्ने सिवाईसी नेपालको बोर्डलाई कारबाही
पोखराको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिले सवारी साधन खरिद गर्दा आर्थिक अनुशासन उल्लंघन गरेको पाइएको छ। संस्थाको ‘आर्थिक प्रशासन विनियमावली’ मा तोकिएको खर्च सीमा र अख्तियारी पालना नगरी गाडी खरिद गरिएकाले राष्ट्र बैंकले माघ ९ को निर्णय अनुसार बोर्डलाई सचेत गराएको छ।
अध्यक्ष पद्मनाथ शर्मासहित सञ्चालकहरू प्रा.डा. तरुण पौडेल, लक्ष्मण खड्का क्षेत्री, जीवन प्रसाद पौडेल, सुमन घर्ती क्षेत्री, मुनादेवी खनाल र दिलीप पौडेललाई अब उप्रान्त यस्तो कार्य नगर्न/नगराउन निर्देशन दिइएको छ।
४. रु. ८१.५५ करोडको कर्जा नोक्सानीलाई गलत आम्दानी देखाउने सीईओ बस्याललाई डण्डा
बनेपामा रहेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भोजराज बस्याललाई राष्ट्र बैंकले माघ ११ मा सचेत गराएको छ। संस्थाले कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provision) बापत छुट्याएको रु. ८१.५५ करोड रकम फिर्ता गरी आम्दानी जनाउँदा गम्भीर लापरवाही गरेको भेटिएको हो।
उक्त रकम कुन-कुन ऋणीको हो भन्ने यकिन विवरण समेत नराखी, राष्ट्र बैंकको निर्देशन विपरीत गैरकानुनी रूपमा आम्दानी देखाएको भन्दै सीईओ बस्याललाई नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम अब उप्रान्त यस्तो कार्य नदोहोर्याउन सचेत गराइएको छ।


