कैलालीको लम्कीचुहा नगरपालिका–२ स्थित विद्यालयबाट हराएकी ६ वर्षीया बालिका मृत फेला परेकी छन् ।
लम्कीचुहा नगरपालिका–४ अम्मरपुरका विकास कामीकी छोरी मनिषा विक मंगलबार बिहान लम्कीचुहा–२ मोतिपुरस्थित जनचेतना आधारभूत विद्यालयको शिशु कक्षामा अध्ययनका लागि पुगेकी थिइन् । बिहान करिब ७ बजे विद्यालयमा छोडेर गएपछि उनी विद्यालयबाटै सम्पर्कविहीन भएकी थिइन् ।
बालिका हराएको जानकारी परिवारले इलाका प्रहरी कार्यालय लम्कीलाई दिएपछि प्रहरी निरीक्षक जयबहादुर चन्दको कमान्डमा सात सदस्यीय टोली तत्काल खोजीमा परिचालन गरिएको थियो । साँझ थप खोजीका लागि प्रहरी निरीक्षक कविराज रोकायाको कमान्डमा पाँच सदस्यीय अर्को टोली पनि परिचालन गरिएको थियो ।
बुधबार बिहान खोजी गर्ने क्रममा लम्कीचुहा नगरपालिका–५ चौरीस्थित रोरा खोलाको किनारमा मनिषा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बालिकाको मृत्युको कारण खुल्न बाँकी रहेको कैलाली प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले बताए ।


