प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । परिषद्को बैठक आज बेलुकी ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने तय भएकाे छ ।
प्रमुख विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार परिषद्को बैठकका लागि सदस्यहरूलाई जानकारी गराइसकिएको छ । बैठकमा विभिन्न संवैधानिक निकायमा रहेका रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने विषय मुख्य एजेन्डाका रूपमा रहेकाे छ ।
हाल निर्वाचन आयोगमा अध्यक्षसहित दुई पद, राष्ट्रिय मानवअधिकार आयोगमा सदस्यको एक पद र मुस्लिम आयोगमा अध्यक्षसहित दुई पद रिक्त छन् । राष्ट्रिय समावेशी आयोग अध्यक्षसहित दुई पद रिक्त छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा एक पद रिक्त छ ।
संवैधानिक निकायका रिक्त पद लामो समयदेखि पूर्ति हुन नसकेको अवस्थामा बोलाइएको यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । बैठकले रिक्त पदमा नियुक्ति प्रक्रिया अघि बढाउने विषयमा आवश्यक निर्णय लिन सक्ने अपेक्षा गरिएको छ ।


