जनकपुरधाम । यातायात व्यवस्था कार्यालय बारा परिसरमा सेवाग्राहीमाथि कार्यालय प्रमुखसहित कर्मचारीले कुटपिट गरेको देखिने भिडियो सार्वजनिक भएपछि मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयले घटनाबारे चासो जनाएको छ। मन्त्रालयले घटनाको विषयमा छलफल गरी आवश्यक निर्णय लिने जनाएको छ।
भाइरल भिडियोमा लाइसेन्ससम्बन्धी कामका लागि कार्यालय पुगेका एक सेवाग्राहीसँग विवाद भएपछि निमित्त कार्यालय प्रमुख चिन्तन आचार्यसहित केही कर्मचारी हातपातमा उत्रिएको देखिन्छ। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि घटनाको छानबिन र आवश्यक कारबाहीको माग उठेको छ।
भिडियोमा कार्यालय प्रमुख आफ्नो कार्यकक्षमा बसेको देखिन्छ। अगाडि दुई जना प्रहरी र एक कर्मचारी बसिरहेका छन् भने एक सेवाग्राही कार्यालय प्रमुखसँग कुराकानी गरिरहेका हुन्छन्। सेवाग्राहीले हातमा रहेको कार्ड देखाउँछन् र केहीबेर संवाद हुन्छ।
त्यसक्रममा सेवाग्राहीले मोबाइल निकाल्न खोजेपछि विवाद बढेको देखिन्छ। भिडियोमा ढोकामा रहेका एक कर्मचारीले सेवाग्राहीलाई धकेलेको र त्यसपछि कार्यालय प्रमुख उठेर उनीसँग हातपात गरेको देखिन्छ। पछि अन्य कर्मचारी पनि घटनामा संलग्न भएको दृश्य भिडियोमा छ। त्यसपछि प्रहरीबीचमा परेर छुट्याउने प्रयास गरेको देखिन्छ। भिडियोमा सेवाग्राहीको मोबाइल खोसिएको र उनलाई बाहिर निकालिएको पनि देखिन्छ।
प्रारम्भिक जानकारीअनुसार घटना गत फागुन तेस्रो सातातिर भएको हो।
निमित्त कार्यालय प्रमुख चिन्तन आचार्यले घटनामा संलग्न व्यक्ति अरुण कुशवाहा रहेको बताए। उनका अनुसार कुशवाहाले आफू पत्रकार भएको परिचय दिँदै श्रीमती र सालीको चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी कामका लागि कार्यालय आएका थिए। कर्मचारीसँग विवाद र भनाभन भएपछि घटना भएको उनको भनाइ छ।
आचार्यले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो घटनाको पूरा दृश्य नभई छोटो अंश मात्र रहेको दाबी गरेका छन्। उनले घटना भएपछि दुवै पक्षबीच मिलापत्र भइसकेको पनि बताएका छन्।
घटनाबारे मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयका निमित्त सचिव रञ्जित यादवले मन्त्रालयले जानकारी लिएको बताए। उनका अनुसार घटनाबारे मन्त्रालयमा छलफल हुनेछ र आवश्यक प्रक्रिया अघि बढाइनेछ।
चिन्तन आचार्य अधिकृत छैटौं तहका कर्मचारी हुन्। उनी गत पुसमा यातायात व्यवस्था कार्यालय जनकपुरबाट बारा कार्यालयमा निमित्त प्रमुखका रूपमा सरुवा भएका थिए।
घटनाबारे मन्त्रालयको निर्णय र थप अनुसन्धानको निष्कर्ष आउन बाँकी छ।


