‘भदौ २४ को विध्वंस योजनाबद्ध थियो, लोकतान्त्रिक कोर्स उल्ट्याउने प्रयास अझै जारी छ’ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ गते भएको विध्वंस आकस्मिक घटना नभई नेपालको लोकतान्त्रिक कोर्स उल्ट्याउने योजनाको हिस्सा भएको दाबी गरेका छन् । एमाले अध्यक्ष ओलीले आज लामो विज्ञप्ति प्रकाशित गर्दै अघिल्ले भदौको घटना विध्वस भएको बताएका छन् । भदौ २४ को विध्वंस भएको एक वर्ष पूरा भएको अवसरमा मंगलबार विज्ञप्ति जारी गर्दै ओलीले नवयुवाको प्रदर्शनलाई अपहरण गरेर योजनाबद्ध रूपमा अराजकता र हिंसा सिर्जना गरिएको आरोप लगाएका हुन् । उनले त्यस दिन भएको राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय तथा सार्वजनिक र निजी सम्पत्तिमाथिको आक्रमणले घटना सामान्य आक्रोशको परिणाम नभएको पुष्टि गर्ने दाबी गरेका छन् । ओलीले भदौ २४ को घटनालाई ‘राष्ट्रियता, लोकतन्त्र र संविधानको प्रगतिशील कोर्स उल्ट्याएर मुलुकलाई सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्वमा होम्ने घातक योजनाको मूर्त रूप’ भएको आरोप लगाएका छन् । उनका अनुसार भदौ २३ गते सामाजिक सञ्जालको सञ्चालन र सुशासनलगायत विषयमा नवयुवाका केही समूहले शान्तिपूर्ण प्रदर्शनका लागि अनुमति मागेका थिए । आयोजकले प्रदर्शन शान्तिपूर्ण र कानुनी दायराभित्र रहने प्रतिबद्धता जनाएपछि प्रशासनले अनुमति दिएको र सुरक्षा उपस्थिति पनि न्यून राखिएको उनको भनाइ छ । तर माइतीघरबाट सुरु भएको शान्तिपूर्ण प्रदर्शनमा विभिन्न आपराधिक समूहले घुसपैठ गरेर त्यसलाई अराजक र हिंसात्मक बनाएको ओलीले आरोप लगाएका छन् । आयोजकले कार्यक्रम स्थगित घोषणा गरेपछि पनि घुसपैठ गरेका समूहले युवालाई ‘मानव ढाल’ बनाएर संसद् भवनतर्फ आक्रमण गर्न उक्साएको उनको दाबी छ ।

भीड नियन्त्रणका क्रममा भएको प्रहरी बल प्रयोगबाट १९ जना युवाको मृत्यु भएको घटनाप्रति ओलीले दुःख व्यक्त गरेका छन् । उनले प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाका साथै कर्तव्य पालनाका क्रममा मारिएका प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । ओलीले भदौ २३ को घटनापछि तत्कालीन सरकारले न्यायिक छानबिन आयोग गठन गर्ने, सामाजिक सञ्जालमाथिको अस्थायी बन्देज हटाउने, घाइतेको निःशुल्क उपचार गर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको स्मरण गरेका छन् । घटनाको नैतिक जिम्मेवारी लिँदै तत्कालीन गृहमन्त्रीले राजीनामा दिएको पनि उनले उल्लेख गरेका छन् । तर त्यसपछिको घटनाक्रमले भदौ २४ को विध्वंस अघिल्लो दिन युवाको मृत्युबाट उत्पन्न आक्रोश मात्र नभएको ओलीको निष्कर्ष छ । प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि समेत राष्ट्रपति भवनदेखि संसद्, सर्वोच्च अदालत र राजनीतिक दलका कार्यालयसम्म आक्रमण हुनु त्यसको प्रमाण भएको उनले बताएका छन् । ओलीले भदौ २३ र २४ का घटनाको गहिरो छानबिन हुनुपर्ने माग गरेका छन् । शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसका लागि को जिम्मेवार थियो भन्ने विषयमा सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनको भनाइ छ । साथै उनले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई घटनाको दोषी ठहर गर्दै गिरफ्तार र मुद्दा चलाउने प्रयास भएको आरोप लगाएका छन् । सुरक्षा निकायको भूमिकासम्बन्धी प्रतिवेदन गुपचुप राखिएको तथा भदौ २४ को विध्वंसका आरोपीलाई उन्मुक्ति दिइएको उनको दाबी छ । ओलीले राज्यका प्रमुख संरचना र लोकतन्त्रमाथि आक्रमण हुँदा सुरक्षा निकायले त्यसलाई किन रोक्न सकेनन् भन्ने प्रश्नसमेत उठाएका छन् । त्यसको कारण सुरक्षा निकायको व्यावसायिक क्षमताको अभाव थियो कि निष्ठाको समस्या थियो भन्ने प्रश्नको जवाफ खोजिनुपर्ने उनले बताएका छन् ।

उनले प्रदर्शनका नाममा अराजकता र परिवर्तनका नाममा हिंसालाई वैधता दिने प्रवृत्तिले नेपालले लोकतन्त्र र शान्तिका लागि स्थापित गरेको उदाहरणलाई कमजोर बनाउने जोखिम रहेको चेतावनी दिएका छन् । ‘अब कहिल्यै त्यस्तो नहोस्’ भन्ने चाहना मात्रै पर्याप्त नहुने भन्दै ओलीले राजनीतिको अपराधीकरण रोक्नुपर्ने, राज्य दहनमा संलग्नलाई उन्मुक्ति दिन नहुने र दण्डहीनताको अन्त्य गर्नुपर्ने बताएका छन् । उनले जनअसन्तुष्टिका नाममा अराजकता र हिंसालाई सामान्य प्रक्रिया बनाउने प्रवृत्तिको विरोध गर्नुपर्नेमा जोड दिएका छन् । सरकार परिवर्तनका लागि संवैधानिक बाटोबाहेक अन्य विकल्प स्वीकार गर्न नहुने उनको भनाइ छ । लोकतन्त्रमा जुनसुकै समस्याको पनि शान्तिपूर्ण समाधान खोज्न सकिने मान्यता स्थापित गर्नुपर्ने उनले बताएका छन् । ओलीले पछिल्लो समय लोकतन्त्र स्थापनाका लागि योगदान गरेका राजनीतिक दल र तिनका नेतृत्वविरुद्ध प्रतिशोध, घृणा र निषेधको अभियान चलाइएको आरोप पनि लगाएका छन् । राष्ट्रपति संस्था, संसद्, न्यायालय र नागरिक समाजलगायत लोकतन्त्रका आधारस्तम्भमाथि मानमर्दन गर्ने क्रम बढेको तथा संविधानका आधारभूत संरचना कमजोर बनाउने प्रयास भइरहेको उनको दाबी छ । विध्वंसका कारण अर्थतन्त्र प्रभावित भएको, व्यवसायीको मनोबल कमजोर बनेको तथा सामाजिक सद्भाव र सहिष्णुतामा समेत असर परेको ओलीले बताएका छन् । यसले नेपाल भूराजनीतिक द्वन्द्वमा धकेलिने जोखिमसमेत बढाएको उनको भनाइ छ । यद्यपि उनले नवयुवाहरूका सरोकार र अपेक्षा असल रहेको बताएका छन् । जेन्जी विद्रोहका नाममा भएको हिंसा र विध्वंसमा नवयुवाको संलग्नता नरहेको दाबी गर्दै ओलीले त्यसबाट ‘लाभग्राही’ अन्य तत्व भएको आरोप लगाएका छन् । ती तत्वको भूमिकाका कारण अहिले नवयुवामा निराशा पैदा भएको उनको भनाइ छ । अन्त्यमा ओलीले लोकतन्त्र, संविधान, राष्ट्रिय हित, राष्ट्रिय स्वाभिमान र शान्तिको रक्षाका लागि देशभक्त, लोकतान्त्रिक, प्रगतिशील तथा वामपन्थी शक्ति र व्यक्तिहरूलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई