काठमाडौँ — नेपालले एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा ओमानको सामना गर्ने भएको छ । मलेसियामा भइरहेको प्रतियोगितामा नेपाल मंगलबार हङकङसँग १५ रनले पराजित भए पनि समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश पाएको थियो । समूह ‘ए’ मा नेपाल र हङकङ दुवैको ४ खेलमा समान ६ अंक रह्यो । तर नेपाल राम्रो रन रेटमा हङकङभन्दा अगाडि रहयो । हङकङ समूह ‘ए’ को उपविजेताको रुपमा अगाडि बढ्दै यूएईसँग सेमिफाइनल खेल्ने भएको छ । लिग चरणको अन्तिम दिनको खेलमा यूएईले समूह ‘बी’ मा ओमानलाई ४९ रनले पराजित गर्यो । यूएईले समूह चरणको सबै ४ खेल जित्यो । ओमानको ४ खेलमा ४ अंक रह्यो । कतार र कुवेतको पनि समान ४ अंक भए पनि नेट रन रेटमा ओमानभन्दा पछाडि रहे । नेपाल र ओमान तथा यूएई र हङकङ बीचको दुवै सेमिफाइनल बिहीबार हुनेछ । क्वालालम्पुरस्थित बायुमास ओभलमा बाबर हायतले सानदार शतक बनाउनुका साथै इहसान खानबाट बलियो साथ पाएपछि टस जितेर ब्याटिङ रोजेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ६१ रन बनाएको थियो । पहिलो ३ खेल जितेर नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । हङकङलाई सेमिफाइनल पुग्न नेपालसँगको खेल जित्नै पर्ने थियो । अन्यथा मलेसिया सेमिफाइनल पुग्ने थियो ।
News credit :ekantipur.com


