काठमाडौं। विद्यालयको कक्षाकोठामा झुन्डिएको नक्सा होस् वा किताबका पानामा छापिएको—हामीले सानैदेखि विश्वलाई लगभग एउटै स्वरूपमा हेर्दै आएका छौँ। त्यसमा अफ्रिकाभन्दा निकै सानो ग्रिनल्यान्ड अस्वाभाविक रूपमा ठूलो देखिन्छ। रुस र क्यानडा पनि वास्तविक क्षेत्रफलको अनुपातभन्दा विशाल देखिन्छन्। झन्डै पाँच शताब्दीदेखि प्रचलनमा रहेको यही नक्सा प्रस्तुत गर्ने तरिकामाथि अहिले संयुक्त राष्ट्रसंघमै प्रश्न उठेको छ। संयुक्त राष्ट्रसंघको महासभाले गत सेप्टेम्बर ४ मा देश र महादेशको वास्तविक क्षेत्रफललाई तुलनात्मक रूपमा सही देखाउने ‘इक्वल अर्थ’ नक्सा प्रयोगलाई प्रोत्साहन गर्ने प्रस्ताव पारित गरेको हो। प्रस्तावको पक्षमा १६४ देश उभिए। अमेरिकाले भने विपक्षमा मतदान गर्यो। ६ देश मतदानमा तटस्थ रहे। यो निर्णयसँगै सामाजिक सञ्जालमा ‘५०० वर्षपछि विश्वको नक्सा बदलिँदै’ भन्ने चर्चा चलिरहेको छ। तर पृथ्वीको भूगोल बदलिन लागेको होइन, न त अहिले प्रयोग भइरहेको नक्सा रातारात हट्नेछ। बदल्न खोजिएको हो—पृथ्वीलाई समतल नक्सामा देखाउने तरिका। अहिले हामीले धेरै ठाउँमा देख्ने विश्व नक्साको आधार ‘मर्केटर प्रक्षेपण’ हो। जेरार्डस मर्केटरले सन् १५६९ मा तयार गरेको यो विधि विशेषगरी समुद्री यात्राका लागि उपयोगी थियो। दिशा बुझ्न सजिलो हुने भएकाले पछि यसको प्रयोग संसारभर फैलियो।समस्या भने यसको आकारमा छ। गोलो पृथ्वीलाई समतल कागजमा उतार्दा सबै कुरा एकैपटक दुरुस्त राख्न सकिँदैन। मर्केटर नक्सामा भूमध्यरेखाबाट उत्तर वा दक्षिणतर्फ जाँदै गर्दा भूभाग वास्तविकताभन्दा फैलिएको देखिन थाल्छ।
यसलाई बुझ्न ग्रिनल्यान्ड र अफ्रिकाको तुलना काफी छ। हामीले प्रायः देख्ने नक्सामा ग्रिनल्यान्ड र अफ्रिकाको आकार खासै धेरै फरक नभएजस्तो लाग्न सक्छ। तर वास्तविकता निकै फरक छ। अफ्रिका ग्रिनल्यान्डभन्दा करिब १४ गुणा ठूलो छ। यही कारण रुस, क्यानडा, ग्रिनल्यान्ड तथा उत्तरी युरोपका भूभाग नक्सामा वास्तविक अनुपातभन्दा ठूला देखिन्छन्। अर्कोतर्फ अफ्रिका र दक्षिण अमेरिकाजस्ता भूभाग तुलनात्मक रूपमा साना देखिन्छन्। यही कमजोरी सच्याउने विकल्पमध्ये एक हो ‘इक्वल अर्थ’। यसले पृथ्वीलाई हुबहु गोलाकार स्वरूपमा देखाउँदैन। समतल नक्सा भएकाले यसमा पनि केही न केही विकृति रहन्छ। तर यसको मुख्य विशेषता देश र महादेशको क्षेत्रफलबीचको अनुपात जोगाउनु हो। अर्थात् कुन भूभाग अर्कोभन्दा वास्तवमा कति ठूलो वा सानो छ भन्ने बुझ्न यसले बढी यथार्थपरक तस्वीर दिन्छ। तर संयुक्त राष्ट्रसंघको निर्णयलाई ‘अब संसारभर पुरानो नक्सा हट्ने भयो’ भनेर बुझ्नु पनि गलत हुन्छ। महासभाबाट पारित प्रस्ताव बाध्यकारी आदेश होइन। विद्यालयदेखि सरकारी कार्यालयसम्म मर्केटर नक्सा हटाउनुपर्ने कुनै विश्वव्यापी समयसीमा तोकिएको छैन। बरु शिक्षा, तथ्यांक, वातावरण, जनसंख्या र भूगोलजस्ता विषयमा क्षेत्रफलको सही तुलना आवश्यक पर्दा ‘इक्वल अर्थ’ वा अन्य समान क्षेत्रफलमा आधारित नक्सा प्रयोग बढाउन प्रोत्साहन गरिएको हो। त्यसैले ५०० वर्षपछि संसारको नक्सा बदलिँदैछ भन्नुभन्दा संसारलाई हेर्ने हाम्रो पुरानो नक्सामाथि पुनर्विचार सुरु भएको छ भन्नु बढी सही हुन्छ। पृथ्वी उही हो। देशहरूको क्षेत्रफल पनि उही हो। फरक यत्ति हो—हामीले वर्षौंदेखि नक्सामा देख्दै आएको संसार र वास्तविक संसारको आकार ठ्याक्कै एउटै रहेनछ।


