काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सरकारको कारबाहीको दायरा फराकिलो बन्दै गएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले बुधबार जबराको निवाससहित उनी निकट मानिएका व्यक्ति तथा आफन्तका घरमा एकसाथ छापा मारेको छ।
विभागको टोलीले जबराको निवासमा खानतलासी गरिरहँदा उनीसँग निकट सम्बन्ध रहेका भनिएका नारायण दाहाल, दीपक तिमल्सिना, नवीन बस्नेत र नवराज थपलियालगायतका घरमा समेत छापा मारेको स्रोतले जनाएको छ।
जबराका भाइ प्रभुशमशेर जबरा तथा ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा पनि विभागको टोली पुगेको बताइएको छ।
विभाग तथा प्रधानमन्त्रीनिकट स्रोतका अनुसार विभिन्न व्यक्तिका घरमा गरिएको खानतलासीका क्रममा महत्त्वपूर्ण कागजात तथा अन्य सामग्री बरामद भएका छन्। यद्यपि बरामद सामग्रीको विस्तृत विवरण विभागले सार्वजनिक गरिसकेको छैन।
जबराविरुद्ध यसअघि नै सम्पत्ति आर्जन तथा आर्थिक कारोबारसँग सम्बन्धित विषयमा प्रश्न उठ्दै आएको थियो। २०७८ सालमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो। त्यतिबेला जबरा, उनका नातेदार तथा उनीसँग निकट व्यक्तिहरूको सम्पत्तिमाथि अनुसन्धान गर्न माग गरिएको थियो।
केही दिनअघि मात्रै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई मध्यराति उनको निवासबाट नियन्त्रणमा लिएको थियो। करिब १२ घण्टा प्रहरी निगरानीमा राखिएपछि उनलाई छाडिएको थियो। प्रहरीले उनलाई पक्राउ नभई सुरक्षा थ्रेटका कारण सुरक्षित स्थानमा लगिएको दाबी गरेको थियो।
जबरालाई नियन्त्रणमा लिएको घटनाको कानुनी आधार र शैलीबारे प्रश्न उठेपछि सरकारको आलोचनासमेत भएको थियो। राष्ट्रिय मानव अधिकार आयोगको टोलीले प्रहरी कार्यालयमा पुगेर जबरालाई भेट्न खोज्दा भेट्न नदिइएको विषयसमेत सार्वजनिक भएको थियो।
यसैबीच जबराको परिवारका तर्फबाट प्रहरीसमक्ष थप सुरक्षा माग गर्दै निवेदनसमेत परेको थियो। निवेदनमा देशको अवस्था तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सामग्रीका कारण आफू र परिवारको सुरक्षामा चुनौती महसुस भएको उल्लेख गरिएको थियो।
जबराको प्रधानन्यायाधीश पदसँग जोडिएका विवाद यसअघि नै लामो समयदेखि सार्वजनिक बहसमा थिए। २०७८ सालमा उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको थियो। पछिल्लो समय सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको महाभियोगसम्बन्धी रिट खारेज गर्दै त्यसको औचित्य समाप्त भएको ठहर गरेको थियो।
जबरालाई सुरक्षा थ्रेटको कारण देखाउँदै नियन्त्रणमा लिएको केही दिनमै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनी, उनका आफन्त तथा निकटस्थ व्यक्तिहरूको घरमा छापा मारेको हो।
यससँगै जबरासँग सम्बन्धित विषय अब सुरक्षा व्यवस्थापनमा मात्र सीमित नरही सम्पत्ति, आर्थिक कारोबार र उनीसँग जोडिएका व्यक्तिहरूको भूमिकासम्म पुगेको देखिएको छ। विभागको अनुसन्धानबाट के–कस्ता तथ्य र प्रमाण बाहिर आउँछन् भन्नेले आगामी प्रक्रिया निर्धारण गर्नेछ।


