काठमाडौं । उच्च अदालत पाटनको वाणिज्य इजलासले प्रभु बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। न्यायाधीशद्वय गणेशप्रसाद बराल र राजुकुमार खतिवडाको इजलासले मंगलबार यस्तो आदेश दिएको हो।
नेपाल सरकार वादी रहेको बैंकिङ कसूर मुद्दामा शेरचनमाथि प्रभु बैंकको सञ्चालक समितिको पूर्वस्वीकृति र निर्णयबिनै गुण एयरलाइन्सलाई १५ करोड रुपैयाँ ऋण प्रवाह गरेको आरोप लगाइएको छ। यस्तै, विप्रेषणबापतको ८ करोड ९३ लाख १९ हजार ९८६ रुपैयाँ ब्याज बैंकमा प्राप्त नभएको अभियोगसमेत उनीमाथि छ।
उक्त मुद्दामा शेरचनविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा ७ को खण्ड (घ) र दफा ९ को उपदफा (२) बमोजिमको कसूरमा २० करोड १७ लाख ६७ हजार ३३४ रुपैयाँ ३० पैसा बिगो कायम गरी सोही ऐनको दफा १५ को उपदफा (२) को खण्ड (ङ) बमोजिम सजायको मागदाबी गरिएको छ।
नेपाल राष्ट्र बैंक र प्रहरीको प्रतिवेदन, मिसिलमा संलग्न प्रमाण तथा बैंकका कर्मचारीहरूको बयानका आधारमा तत्कालै शेरचनलाई निर्दोष मान्न सकिने अवस्था नदेखिएको भन्दै अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम थुनापूर्जी दिई सम्बन्धित कारागार पठाउन आदेश दिएको हो।
उक्त मुद्दामा तत्कालीन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एआईजी मनोज केसीको नेतृत्वमा विस्तृत अनुसन्धान गरिएको थियो। सीआईबीले गरेको प्राविधिक तथा वित्तीय अनुसन्धानबाट संकलित प्रमाणका आधारमा सरकारी वकिलको कार्यालयमार्फत मुद्दा अदालतसमक्ष पुगेको हो।





