काठमाडौं । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बनमा परेपछि उनीमाथि लागेको ‘सूचना चुहावट’ आरोपसँग जोडिएका अन्य सुरक्षाकर्मीमाथि पनि अनुसन्धान अघि बढ्ने देखिएको छ ।
उच्च स्रोतका अनुसार दाहालले जुन विषयको सूचना चुहाएको आरोप लागेको छ, ती विषयसँग सम्बन्धित व्यक्तिसँग नेपाल प्रहरीका केही उच्च पदस्थ अधिकारीको समेत सम्पर्क देखिएको छ ।
विभिन्न मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टलाई थुनाबाहिर ल्याउन विभिन्न गतिविधिमा संलग्न भएको सूचनाका आधारमा दाहाल निलम्बनमा परेको स्रोतको दाबी छ ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पनि भट्ट प्रकरणसँग जोडिएको गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए । असोज ११ गते बाँसबारीस्थित घरबाट पक्राउ गरिएका राणालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा राखिएको थियो ।
राणा पक्राउलगत्तै उनका ज्वाइँ नाता पर्ने एआईजी दाहाल उनलाई राखिएको कार्यालय पुगेका थिए । त्यसपछि दाहालको भूमिकामाथि पनि अनुसन्धान सुरु भएको स्रोतले जनाएको छ ।
व्यवसायी भट्टलाई थुनाबाट निकाल्न ‘मध्यस्थकर्ता’का रूपमा सक्रिय रहेको भनिएका नेपालीमूलका अमेरिकी ग्रीनकार्ड होल्डर इनाम सापकोटा र राणाबीच समेत सम्पर्क रहेको अनुसन्धानबाट खुलेको स्रोतको दाबी छ । उक्त सम्पर्कको माध्यम दाहाल रहेको बताइएको छ ।
तर, सापकोटाको सम्पर्क दाहालसँग मात्रै नभई नेपाल प्रहरीका केही उच्च पदस्थ अधिकारीसँग समेत रहेको स्रोतले जनाएको छ ।
राणा पक्राउलगत्तै दिल्ली जान लागेका सापकोटालाई प्रहरीको विशेष ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । उनी अहिले अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसरको हिरासतमा छन् ।
सापकोटाबाट नियन्त्रणमा लिइएको मोबाइलको ह्वाट्सएप अकाउन्टबाट सम्पर्क भएका व्यक्तिहरूको पहिचान गर्ने क्रममा दाहाल पहिलो निशानामा परेको स्रोतको भनाइ छ । भट्ट पक्षसँग सम्बन्धित गतिविधि बढेपछि सरकारले उनलाई काठमाडौंको जिम्मेवारीबाट हटाएर सिन्धुपाल्चोक कारागार पठाएको जनाइएको छ ।
अनुसन्धानमा संलग्न स्रोतका अनुसार राणा र दाहाल मात्रै नभई नेपाल प्रहरी तथा अन्य क्षेत्रका केही व्यक्तिको समेत यस प्रकरणमा सक्रियता देखिएको छ । सापकोटाको मोबाइल अहिले प्रहरीको डिजिटल फोरेन्सिक ल्याब (डीएफएल)मा राखिएको छ ।
प्रहरीले मोबाइलबाट प्राप्त विवरण संकलन तथा विश्लेषण गरिरहेको स्रोतले जनाएको छ । उक्त विवरणका आधारमा सम्पर्कमा रहेका अन्य व्यक्तिको भूमिकासमेत अनुसन्धानको दायरामा आउन सक्ने बताइएको छ ।
दाहालमाथि के कारबाही हुन सक्छ ?
दाहाल निलम्बनमा परेको भोलिपल्ट मंगलबार सशस्त्र प्रहरीका अर्का एआईजी अञ्जनीकुमार पोखरेललाई उनीमाथि छानबिन गर्ने जिम्मेवारी दिइएको छ । पोखरेलले तीन दिनभित्र आवश्यक छानबिन गरी प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनका आधारमा थप कारबाही अघि बढाइने गृह मन्त्रालय स्रोतले जनाएको छ ।
असोज २८ गते एआईजीको चार वर्षे पदावधि पूरा गर्न लागेका दाहालको त्यसअघि म्याद थप नभए अनिवार्य अवकाशमा जाने अवस्था थियो । उनको म्याद थपका लागि सशस्त्र प्रहरी बलबाट गृह मन्त्रालयमा सिफारिससमेत पुगेको थियो ।
तर, गम्भीर आरोपमा निलम्बित भएपछि उनको म्याद थपको सम्भावना कमजोर बनेको स्रोतको भनाइ छ ।सुरक्षा निकायका कर्मचारीले गोप्य सूचना चुहाउनु गम्भीर कसुर मानिने भएकाले दाहालमाथि विभागीय कारबाहीसँगै फौजदारी अभियोगसमेत अघि बढ्न सक्ने स्रोतले जनाएको छ ।
फौजदारी अभियोगमा कारबाही अघि बढ्ने अवस्था आएमा उनलाई अवकाशअघि नै सेवाबाट बर्खास्त गर्न सकिने बताइएको छ । फौजदारी अभियोग नलगाइए पनि विभागीय छानबिनबाट दोषी ठहरिए सेवाबाट बर्खास्त गर्नुपर्ने दबाब गृह मन्त्रालयमा रहेको स्रोतको दाबी छ ।
फौजदारी अभियोग आकर्षित भएमा उनलाई थुनामा राखेर मुद्दा चलाउन सकिनेछ । विभागीय कारबाहीबाट मात्रै बर्खास्त गरिएमा भने थुनामा नपर्न सक्ने अवस्था रहन्छ । तर, बर्खास्ती भए अवकाशपछि पाउने निवृत्तिभरण (पेन्सन) समेत रोक्का हुन सक्ने स्रोतले जनाएको छ।


