काठमाडौं । सरकारले विभिन्न १३ देशका लागि सिफारिस गरेका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म हुने भएको छ ।
मन्त्रिपरिषद्बाट विभिन्न १३ देशका लागि राजदूतमा सिफारिस भएका व्यक्तिहरूविरुद्ध तोकिएको समयसीमाभित्र ७ वटा उजुरी दर्ता भएका छन् ।
संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार प्राप्त उजुरीलाई अध्ययन तथा छानबिनको दायरामा राखेर सुनुवाइ प्रक्रिया अघि बढाइएको छ । उनका अनुसार केही उजुरी समिति नै गठन गरेर छानबिन गर्नुपर्ने प्रकृतिका छन् ।
१३ जना प्रस्तावित राजदूतविरुद्ध परेका ७ वटा उजुरीमध्ये २ वटा सबै प्रस्तावित राजदूतलाई समेटेर सामूहिक रूपमा दर्ता भएका छन् । बाँकी ५ वटा उजुरी भने विभिन्न प्रस्तावित राजदूतलाई छुट्टाछुट्टै लक्षित गरी दर्ता भएका हुन् ।
संसदीय सुनुवाइ समितिले उजुरीकर्ताका गुनासा तथा प्रस्तावित राजदूतहरूको योग्यता, कार्ययोजना र पृष्ठभूमिको परीक्षण गरेपछि नियुक्तिका लागि अनुमोदन गर्ने वा नगर्ने सम्बन्धमा निर्णय गर्नेछ ।


