जनकपुरधाम । दसैँ, तिहार तथा छठ पर्वलाई सुरक्षित बनाउन मधेश प्रदेश प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार असोज २९ गतेदेखि कात्तिक ३० गतेसम्म आठवटै जिल्लामा ७ हजार २२९ प्रहरी परिचालन गरिने भएको छ।
सुरक्षा योजनाअन्तर्गत सबैभन्दा बढी धनुषामा १ हजार ५९९ प्रहरी परिचालन हुनेछन्। त्यस्तै, बारामा ८७०, रौतहटमा ८६३, सप्तरीमा ८५७, सर्लाहीमा ७९२, महोत्तरीमा ७४७, पर्सामा ६६१ र सिरहामा ६५१ प्रहरी परिचालन गरिनेछ।
चाडपर्वका क्रममा सुरक्षा व्यवस्थापनका लागि १ हजार १२४ ड्युटी तोकिएको छ। ती ड्युटीमा ५ हजार ४८१ प्रहरी परिचालन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
सुरक्षा योजनाअन्तर्गत १४ जिल्ला रिजर्भ, ९२ क्विक रेस्पोन्स टिम (क्यूआरटी), १८ स्ट्राइकिङ टोली, ८७ ट्राफिकसहितको चेकिङ, ८६ मोबाइल गस्ती र १८० पैदल गस्ती परिचालन गरिनेछ।
यस्तै, शंकास्पद स्थानमा पिकेटका लागि ३३९, राजमार्गमा स्कर्टिङका लागि २९ र यात्रु सहायता कक्षका लागि ६४ ड्युटी तोकिएको छ।
चाडपर्वका समयमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्नुका साथै यात्रु तथा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न प्रदेशका सबै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।


