काठमाडौं । इजरायलमा केयरगिभर रोजगारीमा पठाइदिने भन्दै ठूलो रकम ठगी गरेको आरोपमा नेपाल प्रहरीले चार जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगीमा परेका थप पीडितलाई जाहेरी दिनसमेत आग्रह गरेको छ।
नेपाल सरकार र इजरायल सरकारबीच ‘जी टु जी’ प्रक्रियाअन्तर्गत सन् २०२४ मा सञ्चालित केयरगिभर परीक्षामा उत्तीर्ण भएर ‘होल्ड’ सूचीमा रहेका युवाहरू ठगीमा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ।
उक्त परीक्षामा कुल ३ हजार ४६१ जना उत्तीर्ण भएका थिए। तीमध्ये ‘होल्ड’ सूचीमा रहेका १ हजार १५२ जनामध्ये पहिलो चरणमा १५६ जना युवालाई लक्षित गरी इजरायल पठाइदिने भन्दै रकम असुलिएको प्रहरीको भनाइ छ।
आरोपीहरूले आफूहरूको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनसँग चिनजान रहेको भन्दै पीडितलाई तत्काल इजरायल पठाइदिने आश्वासन दिएको प्रहरीले जनाएको छ।
उनीहरूले त्यसका लागि मन्त्रिपरिषद्बाट विशेष निर्णय गराइएको दाबी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका फर्जी कागजातसमेत देखाएर पीडितलाई विश्वासमा पारेको प्रहरीको भनाइ छ।
यसरी योजनाबद्ध रूपमा पीडितहरूबाट २ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरिएको आरोप छ।
घटनाबारे विमल पराजुलीको जाहेरीका आधारमा नेपाल सरकार वादी र भरतप्रसाद चौलागाईंलगायतलाई प्रतिवादी बनाएर ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।
प्रहरीले रामेछापको सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरतप्रसाद चौलागाईंलगायत चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सीआईबीले उक्त प्रकरणमा विभिन्न किसिमले झुक्यानमा पारी आरोपीहरूबाट ठगिएका अन्य पीडितलाई समेत यथाशीघ्र जाहेरी दरखास्त दिन आग्रह गरेको छ।


