मुस्ताङ । बाढी, पहिरो र हिमपातका कारण सडक अवरुद्ध भएपछि मुस्ताङको लेतेदेखि कोरला नाकासम्म करिब पाँच सय कन्टेनर लामबद्ध रूपमा रोकिएका छन् । सडक अवरुद्ध भएको एक साताभन्दा बढी हुँदा दसैँतिहार लक्षित सामानसमेत गन्तव्यमा पुग्न सकेका छैनन् ।
असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हिमपातका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको हो । म्याग्दीको पोखरेबगर, कुनौटे, बैसरीलगायत स्थानमा सडक मर्मत भइरहेको छ ।
सडक सञ्चालनमा आउन अझै एक साता लाग्न सक्ने आयोजनाका प्राविधिकहरूले बताएका छन् । सडक अवरुद्ध हुँदा ७० भन्दा बढी कन्टेनर र एक सयभन्दा बढी विद्युतीय सवारीसाधन जोमसोमस्थित बसपार्कमा रोकिएका छन् ।
बेनी–जोमसोम सडक अवरुद्ध रहे पनि कालीगण्डकी करिडोर सडक आयोजनाले जोमसोम–कोरला खण्डका अवरुद्ध सडक मर्मत गरेपछि कोरला नाकाबाट केही मालवस्तु बोकेका कन्टेनर जोमसोम ल्याइएको छ ।
यसअघि बाढीपहिरोका कारण कोरला नाका क्षेत्रमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुँदा चीनबाट ल्याइएका सामानको भन्सार जाँचपाससमेत प्रभावित भएको थियो । विद्युत् पोलमा क्षति पुगेपछि मुस्ताङमा एक सातासम्म केन्द्रीय ३३ केभी विद्युत् प्रसारण लाइन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।
कोरला नाकामै रोकिएका कन्टेनर चालक गोविन्द गुरुङका अनुसार चीनबाट कोरला नाका हुँदै पैठारी गरिएका करिब ३०० कन्टेनर र २०० भन्दा बढी विद्युतीय सवारीसाधन अझै भन्सार जाँचपासका लागि रोकिएका छन् ।
दसैँतिहार लक्षित गरी चीनबाट ल्याइएका मालवस्तु समयमै गन्तव्यमा पुग्न नसक्दा व्यापारीसँगै उपभोक्तासमेत प्रभावित भएका छन् । चाडपर्वको समयमा आवश्यक वस्तु बजारमा पुग्न ढिलाइ हुँदा नेपाली बजारको आर्थिक गतिविधिसमेत प्रभावित भएको व्यवसायीहरूको भनाइ छ।


